कञ्चनपुर,चैत्र २८ गते ।सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर – १ बैरवास्थित बस्तीमा मंगलबार बिहान भएको आगलागीमा तीन घर जलेर नष्ट भएको छ ।
स्थानीय बिनय खंगको फुसको घरमा खाना पकाउने क्रममा चुल्होबाट आगो सल्केर आगलागी हुदाँ विनय खंगसँगै बिरेन्द्र खंग र रामेश्वर खंगको घर पनि जलेर खरानी भएको प्रहरीले जनाएको छ ।
घरमा लागेको आगो निभाउने क्रममा स्थानीय दुई जना घाइते भएका छन् । ५२ वर्षीय विनय खंग र ३५ वर्षीय राजिन्द्र सदा घाइते भएका हुन् । खंगको ढाड तथा पिठ्यू जलेको छ भने सदाको जस्तापाताले नाक काटिएको छ । दुवैको स्थानीय धर्मेश्वर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि खंगलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
आगलागीमा परी तीनै परिवारको घरमा रहेका धान, गहुँसहितको खाद्यन्न, फर्निचरका सामग्री तथा लताकपडा नगद गरी कुल १९ लाख बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक सिंहले जानकारी दिए । कञ्चनरुप नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो । आगलागीबाट विनय खंगको बाछी समेत जलेर मरेको छ ।
यसैगरी सोमबार राति सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर – २ पिपराहीका रामनारायण साहको मुल घरमा विद्युत तार सर्ट भएर आगलागी भएको थियो । उक्त आगलागीमा परी साहको दुई वटा खसीसहित सम्पूणर् सामग्री खरानी हुँदा झण्डै १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगोलाई शम्भुनाथ नगरपालिका र मधेस प्रहरी तालिम केन्द्रको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो।
दलित सरोकार मञ्च नेपालले आगलागीबाट पीडित परिवारलाई मंगलबार नै राहतमा खाद्यान्य र त्रिपाल वितरण गरेको छ । मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पासवान,कञ्चनरुप नगरपालिका वडा नम्बर १का वडाअध्यक्ष रब्बान खाँन,कार्यपालिका सदस्यद्धय शोभा पासवान र सुरेश पंजियार,वडासदस्य दुर्गानन्द यादब,कलिम शेख र संयुक्त दलित सर्घष समिति कञ्चनरुपका संयोजक रामदेश शर्मा खत्वेको उपस्थितीमा प्रति परिवार ५० किलो चामल,५० किलो गहुँको आटा,२ केजी दाल,२ केजी चिनी,२ लिटर तेल र ४ पिस साबुन र एक एक ओटा त्रिपाल वितरण गरेका छन् ।