काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दसैँ–तिहारको बेला शिक्षकलाई तलब नदिने विद्यालयका प्रधानाध्यापकलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले आइतबारभित्रै शिक्षकहरूलाई तलब उपलब्ध गराउन निर्देशन दिएका हुन् । दसैँतिहारका बेला तलब निकासा नभएको भन्दै शिक्षकहरूबाट व्यापक गुनासो आइरहेकाले आइतबारसम्म उपलब्ध गराउन उनले निर्देशन दिए ।
शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठासकेको जानकारी दिँदै आइतबारसम्म शिक्षकहरूलाई पारिश्रमिक उपलब्ध नगराए सम्बन्धित प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिने मन्त्री पुनले बताएका छन्।
उनले भनेका छन्, ‘तलब नख्वाउने प्रअहरूलाई सूचना- दसैँ-तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरिदिएन भनेर धेरै गुनासो आएको छ। शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठाइसकेको छ। भोलि सम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकास नगरेमा त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ।’